कृषीपारुले गाउँकै माटोमा सुन फलाइन्, ७ बोटबाट सुरु भएको व्यवसाय ९ सय...

पारुले गाउँकै माटोमा सुन फलाइन्, ७ बोटबाट सुरु भएको व्यवसाय ९ सय पुग्यो

धनगढी |बाजुराको दुर्गम गाउँ बिजेढुङ्गामा पारु रोकायाको सुन्तला बारी हिजोआज प्रेरणाको केन्द्र बनेको छ। जब युवा पुस्ता रोजगारीको खोजीमा सहर या विदेश भासिने सोच बनाउँदै थिए, पारु र उनका श्रीमान् रामबहादुर रोकायाले भने आफ्नै गाउँ फर्केर उद्यमशीलताको नयाँ बाटो समाते।

भारतको हिमाञ्चलमा वर्षौं ज्यालादारी काम गरेपछि उनीहरू नेपाल फर्कंदा सिप थियो, तर पूँजी थिएन। गाउँको पुरानो मान्यता अनुसार अन्नबाली फलाउने जमिनमा फलफूल लगाउन नहुने विश्वासले पनि सुरुवातमा चुनौती थप्यो। तर पारुले सुन्तला खेतीलाई दृढताका साथ अगाडि बढाइन्। सुरुमा जम्मा ७ बोटबाट सुरु भएको उनको व्यवसाय आज ९ सय बोटसम्म फैलिएको छ।

गाउँसम्म सडक सुविधा नहुँदा पनि पारुले हार मानिनन्। सुन्तला बजारमा पुर्‍याउन पैदल बोकेर सडकसम्म ल्याउने र त्यहाँबाट गाडीमा लोड गर्ने मेहनत उनले रोजिन्। पाँच वर्षमै उनले वार्षिक साढे सात लाख रुपैयाँ आम्दानी गर्ने सफलताको शिखर चुमिन्।

गौमुल गाउँपालिकाले पारुको सफलताबाट प्रेरित भएर सुन्तला खेतीलाई प्रोत्साहित गर्ने योजना अघि सारेको छ। स्थानीय सरकारको सहयोगमा कृषि ज्ञान केन्द्रले बजारीकरणमा साथ दिँदै आएको छ। पारुको बारीमा फलेको सुन्तला यस वर्ष हुम्ला जिल्लासम्म निर्यात हुन थालेको छ, जसले स्थानीय उत्पादनलाई फराकिलो बजार दिन सफल भएको छ।

हाल बाजुरामा ५ सय मेट्रिकटन बढी सुन्तला उत्पादन हुने तथ्यांक छ। डेढ सय हेक्टर पुरानो र २ सय बढी हेक्टरमा नयाँ सुन्तलाजन्य फलफूल खेती भइरहेको छ भने ३० हजारभन्दा बढी बोट रोपिएको अनुमान गरिएको छ। तीमध्ये १० हजारभन्दा बढी बोट फल दिने अवस्थामा छन्।

सुन्तला खेतीका लागि उपयुक्त भूगोल मानिएको बाजुराका गौमुल गाउँपालिका ४, ५, र ६ का करिब ६० प्रतिशत भन्दा बढी युवा कामका लागि भारत जाने गरेका छन्। तर, पारुको सफलताले ती युवाहरूलाई गाउँमै उद्यमशीलता गर्ने प्रेरणा दिएको छ।

कृषि विशेषज्ञहरूका अनुसार बाजुरामा माटो परीक्षण गरी सुन्तला खेतीलाई थप प्रवर्द्धन गर्न सके, जिल्लाको समग्र आर्थिक उन्नति हुन सक्छ। कृषि व्यवसाय प्रवर्द्धन सहयोग तथा तालिम केन्द्रका कृषि अधिकृत मिनप्रसाद जैशीका अनुसार, बाजुरा आत्मनिर्भर बन्न सक्ने ठूलो सम्भावना बोकेको छ। उनले बाजुरामा ‘आत्मनिर्भर उत्पादनको अभियान’ नै चलाएका छन्।

पारुको सफलता विदेश पलायन भइरहेका युवाका लागि स्पष्ट सन्देश हो—अवसर आफ्नै माटोमा पनि हुन्छ। मेहनत, लगनशीलता र सही सोच भए गाउँमै बसेर समृद्धि हासिल गर्न सकिन्छ। उनले प्रमाणित गरिदिइन् कि नेपालमै बसेर आत्मनिर्भर बन्न सकिन्छ, अवसर खोज्न टाढा जानु पर्दैन।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img