Thursday, July 17, 2025
कृषीपदमपोखरीमा १०८ कृषक परिवारलाई आधुनिक उपकरण हस्तान्तरण

पदमपोखरीमा १०८ कृषक परिवारलाई आधुनिक उपकरण हस्तान्तरण

‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत मेवा खेती प्रवर्द्धनका लागि ५५ लाखभन्दा बढीको सामग्री वितरण

spot_img

हेटौँडा | हेटौँडा–१३ पदमपोखरीमा ‘एक वडा, एक कृषि उत्पादन’ कार्यक्रमअन्तर्गत मेवा खेतीलाई प्रवर्द्धन गर्न कृषि प्रविधि र आवश्यक सामाग्री हस्तान्तरण गरिएको छ। समुदायमा आधारित यो परियोजना आधामार कृषक समूहको संयोजनमा बागमती प्रदेश सरकारको कृषि मन्त्रालय र हेटौँडा उपमहानगरपालिकाको आर्थिक साझेदारीमा सञ्चालन गरिएको हो।

कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता रहेको थियो भने कार्यक्रमको सभाध्यक्षता आधामार कृषक समूहका अध्यक्ष फेन्चु लामाले गरेका थिए।

- Advertisement -

उक्त साझा निरीक्षण तथा मूल्याङ्कन कार्यक्रममा बागमती प्रदेश सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव बैकुण्ठ अधिकारी, कृषि विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक शुधिर श्रेष्ठ, कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कंडेल, र हेटौँडा–१३ का वडा अध्यक्ष पेम्बा लामाको विशेष उपस्थिति रहेको थियो।

कुल ५५ लाख ७७ हजार २१७ रुपयाँको लगानीमा संचालन गरिएको योजनाबाट प्रत्यक्ष रूपमा १० हेक्टर क्षेत्रफलमा खेती गर्ने १०८ घरधुरी लाभान्वित भएको समूहको दाबी छ। आर्थिक साझेदारीअनुसार अनुदानमध्ये कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट ३३ लाख ४८ हजार ३३०, हेटौँडा उपमहानगरबाट  ११ लाख १५ हजार ४४३ तथा कृषक समूहबाट २० प्रतिशत योगदान गरिएको छ।

कार्यक्रममा कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोड्न आवश्यक सामग्री तथा उपकरणहरू हस्तान्तरण गरिएको छ। खेतीको उत्पादकत्व बढाउने र श्रमको खर्च घटाउने उद्देश्यसहित कृषकहरूलाई २ सय रोल मल्चिङ प्लास्टिक प्रदान गरिएको समूहका अध्यक्ष फेन्चु लामाले जानकारी दिए। उनका अनुसार मल्चिङ प्लास्टिकले माटोको ओसिलोपन कायम राख्न, घाँस नियन्त्रण गर्न र बोटबिरुवाको वृद्धि सुधार गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ। वातावरणमैत्री कृषि प्रणालीलाई प्रवर्द्धन गर्न ३० हजार बराबरको जैविक विषादी समेत वितरण गरिएको उनले बताए। जोत र जमिन तयारी सहज बनोस् भनेर ७ वटा हाते ट्याक्टर र १ वटा चारपांग्रे ट्याक्टर उपलब्ध गराइएको हो। त्यस्तै, माटो खन्ने तथा बिरुवा रोप्ने कार्य सरल बनाउन २ वटा अर्थगर पनि प्रदान गरिएको छ।

फलफूल संरक्षण र प्रशोधनलाई व्यवस्थित बनाउने उद्देश्यले २ वटा ड्रायर मेसिन, तौल गर्न २५ वटा डिजिटल तराजु, ढुवानी तथा भण्डारणका लागि ३ सय वटा प्लास्टिक क्रेट, र माटोको अम्ल/क्षारीयता जाँच गर्न १ थान पीएच मिटर वितरण गरिएको छ । कीट नियन्त्रणको लागि ५० वटा स्प्रे पम्प, मौसमी नियन्त्रणका लागि ५ वटा टनेल संरचना, र पानीको मितव्ययी प्रयोग गर्न १८ वटा थोपा सिँचाइ प्रणालीसमेत कृषकहरूलाई प्रदान गरिएको अध्यक्ष लामाले जानकारी दिए। उनले यी सबै उपकरण तथा सामग्रीहरूले कृषकहरूलाई प्रविधिमैत्री कृषि अभ्यासतर्फ अभिप्रेरित गर्ने बताए ।

मेवा खेती हेटौँडाको ब्राण्ड बन्नेछ, सरकार कृषकसँगै छ – मेयर लामा 

IMG 3666 scaled

कार्यक्रममा उपमहानगर प्रमुख मिना कुमारी लामाले पदमपोखरीको कृषि परिवर्तनको श्रेय साहसी कृषकहरूलाई दिँदै मेवा खेतीलाई हेटौँडाको ब्राण्डका रूपमा विकास गर्ने प्रतिबद्धता जनाइन्। “परिवर्तन भिडबाट होइन, एक साहसीबाट सुरु हुन्छ,” उनले भनिन्, “पदमपोखरीमा त्यो साहसी व्यक्ति फेन्चु लामा, सुरज थिङ हुन्। अहिले जुन दृष्टिले यो ठाउँ हेरिन्छ, त्यो दृष्टिकोण परिवर्तन भएको छ।”

उनले कृषिमा आधारित विकासलाई बल दिँदै पदमपोखरीका किसानहरूको योगदानलाई विदेशी भूमिमा श्रमिकहरूको पीडा जोडेर स्मरण गरिन्। “हामीलाई आत्मनिर्भर बन्ने बाटो यही हो भन्ने बुझ्न जरुरी छ,” उनले भनिन्, “नेपालमै केही गर्न चाहनेहरूका लागि सरकार साथमा छ। म छु। तपाईंहरूको श्रमको सम्मानका लागि सरकार तयार छ।”

उनले ‘एक वडा, एक कृषि उत्पादन’ योजनालाई हेटौँडाको ब्राण्ड निर्माणको आधारका रूपमा चित्रण गर्दै भनिन्, “ हेटौँडालाई अब मेवाको पकेट क्षेत्र बनाउनुपर्छ। ”

कार्यक्रममा कृषकहरूको प्रतिनिधित्व गर्दै मेवा खेती किसान सानु मान्या गोलेले आफ्ना अनुभव साझा गरिन्। उनले सानो लगानीमै राम्रो आम्दानी हुने मेवा खेतीबाट आफू जस्तै किसानहरू स्वरोजगारतर्फ उन्मुख भएको उल्लेख गरिन्।

“पहिले त हामीले यति फाइदा होला भनेर सोचेकै थिएनौं,” उनले भनिन्, “गत वर्ष परीक्षणका रूपमा आठ सय बिरुवा लगाएँ, राम्रो आम्दानी भयो। त्यसैले यो वर्ष एक हजार मेवाका बिरुवा लगाइसकेको छु।”

सानो लगानीमा व्यावसायिक खेती सुरु गर्न पाएको अवसरप्रति आभार प्रकट गर्दै उनले भनिन्, “हामी जस्ता किसानलाई कृषिमा व्यावसायिक मोड दिन सहयोग गर्ने यो कार्यक्रमप्रति  धन्यवाद दिन चाहन्छु। यसले हामीलाई आत्मनिर्भर बनाएको छ।”

कार्यक्रमपछि स्थलगत अनुगमनको क्रममा कृषि विकास कार्यालय चितवनका प्रमुख झलकनाथ कडेलले मेवा खेतीको अवस्था उत्साहजनक रहेको बताए। “बिरुवा राम्रो ओतमा छन्, विकास सन्तोषजनक छ,” उनले भने, “यो पाँच वर्षे योजना हो, र आगामी वर्षका लागि बजेट पनि प्रदेश सरकारले प्रस्ताव गरिसकेको छ।”

कडेलका अनुसार मेवा खेतीलाई दीर्घकालीन उत्पादन प्रणालीका रूपमा विस्तार गर्ने योजना प्रदेश सरकारले बनाइसकेको छ। “अब मेवा मकवानपुर वा हेटौँडासम्म सीमित रहने छैन,” उनले भने, “निकट भविष्यमा यो खेती यस क्षेत्रको पहिचान बन्नेछ।”

उनले यो कार्यक्रम बागमती प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘कृषिको गौरव’ योजनाअन्तर्गत सकारात्मक रूपमा अघि बढिरहेको टिप्पणी गरे।

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

spot_img
ताजा
सिफारिस
बिज्ञापन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img