काठमाण्डाैं । नेपाली शेयर बजार परिसूचक नेप्सेमा आज उच्च अंकको गिरावट आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ३६.२५ अंकले घटेर २ हजार ६१८.०३ विन्दुमा झरेको हो।
आज कारोबारमा आएका सबै उपसमूहका सूचक राताम्मे भएका छन्। जसमध्ये जीवन बिमा समूहको सूचक सबैभन्दा बढी २ प्रतिशतभन्दा धेरैले घटेको छ। कुल २५३ कम्पनीको शेयर मूल्य घट्दा २३ वटा कम्पनीको मूल्य बढेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको छ।
कम्पनीगत रूपमा फस्ट माइक्रोफाइनान्स लघुवित्तको शेयर मूल्य साढे ८ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ। यद्यपि, समग्र बजार घटेको दिन धौलागिरि लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य भने १५ प्रतिशतले बढेको छ।
बजार परिसूचकसँगै आज कारोबार रकममा पनि गिरावट आएको छ। हिजो ७ अर्ब ५ करोड रुपैयाँ बराबरको शेयर किनबेच भएकोमा आज २५२ कम्पनीका २ करोड १६ लाख कित्ता शेयर ६ अर्ब ३५ करोड रुपैयाँमा कारोबार भएका छन्।




