हेटौँडा | चितवनको भरतपुर स्थित आरम्भ कलेजले आगामी शैक्षिक सत्रका लागि ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) र ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) कार्यक्रमहरूमा भर्ना खुला गरेको छ। आइतबार हेटौँडामा पत्रकार सम्मेलन गर्दै कलेजका प्रिन्सिपल सुरज शिवाकोटीले भर्ना बारे जानकारी दिएका हुन् ।
कलेजका प्रिन्सिपल सुरज शिवाकोटीका अनुसार, त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त आरम्भ कलेजले दोस्रो ब्याजको लागि यी कार्यक्रमहरूमा भर्ना खुल्ला गरेको छ। कलेजले ‘पढ्दै, कमाउँदै’ अवधारणा अपनाएको छ, जसअन्तर्गत विद्यार्थीहरूले पहिलो वर्षदेखि नै अध्ययनसँगै काम गर्न सक्नेछन्।
भर्ना प्रक्रियाबारे जानकारी दिँदै शिवाकोटीले भने, “विद्यार्थीहरूले माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कम्तीमा डी ग्रेड (एक दशमलव आठ जिपिए) ल्याएको र सिम्याट परीक्षा उत्तीर्ण गरेको हुनुपर्छ।” उनले थपे, “दुवै कार्यक्रम चार वर्षीय हुनेछन्, जसमा हरेक वर्ष दुई सेमेस्टर गरी कुल आठ सेमेस्टर पढाई हुनेछ।”
बिएचएम प्रोग्राम हेड दिपेन्द्र सुबेदीले कलेज स्थापनाको पहिलो वर्षमै हामीले ९७ प्रतिशत भर्ना दर हासिल गरेको बताउँदै भने “हामी सरकारी कलेज भन्दा पनि न्यूनतम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेका छौं।”
उनका अनुसार, पश्चिममा कावासोतीदेखि पूर्वमा हेटौँडासम्मका विद्यार्थीहरु हाल कलेजमा अध्ययनरत छन्।
कलेजले विद्यार्थीहरूका लागि ५० हजार रुपैयाँसम्मको छात्रवृत्तिको व्यवस्था गरेको छ। साथै, चौथो वर्षमा विदेशमा इन्टर्नसिप गर्ने अवसर पनि प्रदान गरिने जानकारी दिइएको छ।
२०८१ सालमा स्थापना भएको आरम्भ कलेजले गुणस्तरीय शिक्षाको साथै व्यावहारिक सीप र उद्यमशीलता विकासमा विशेष जोड दिँदै आएको छ। यसले हेटौँडा र चितवन आसपासका विद्यार्थीहरूलाई उच्च शिक्षाको सहज अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।
कलेजले बीएचएमका लागि ७ लाख ५० हजार र बीआइएमाका लागि ६ लाख रुपैयाँ शुल्क निर्धारण गरेको जनाएको छ । यी दुई कार्यक्रमले विद्यार्थीहरू विश्वव्यापी क्षेत्रमा प्रवेश गर्ने अवसर पाउने कलेजको दाबी छ ।
ब्याचलर अफ होटल म्यानेजमेन्ट (बिएचएम) एक उत्कृष्ट करियर विकल्प हो जसले विद्यार्थीहरूलाई आतिथ्य उद्योगको विश्वव्यापी क्षेत्रमा प्रवेश गर्ने अवसर प्रदान गर्ने प्रोग्राम हेड दिपेन्द्र सुबेदीले बताए ।
उनले भने “यो कार्यक्रमले होटल व्यवस्थापन, पर्यटन, इभेन्ट म्यानेजमेन्ट र खाद्य तथा पेय सेवा जस्ता विविध क्षेत्रहरूमा गहन ज्ञान र व्यावहारिक सीपहरू प्रदान गर्दछ। नेपालको बढ्दो पर्यटन उद्योग र विश्वव्यापी आतिथ्य क्षेत्रको विस्तारले बिएचएम स्नातकहरूका लागि रोजगारीका अवसरहरू प्रशस्त सिर्जना गरेको छ। यसका साथै, यो कार्यक्रमले विद्यार्थीहरूलाई उद्यमशीलताको मार्गमा अग्रसर गराउँदै आफ्नै व्यवसाय सुरु गर्न आवश्यक ज्ञान र सीपहरू प्रदान गर्दछ।”
ब्याचलर अफ इन्फरमेसन म्यानेजमेन्ट (बिआइएम) आजको डिजिटल युगमा अत्यन्त महत्त्वपूर्ण र मागमा रहेको शैक्षिक कार्यक्रम रहेको प्रिन्सिपल सुरज शिवाकोटीले बताए ।
उनले भने “यो कार्यक्रमले विद्यार्थीहरूलाई सूचना प्रविधि र व्यवस्थापनको संयोजनमा विशेषज्ञता हासिल गर्ने अवसर प्रदान गर्दछ। बिआइएमले व्यवसायिक प्रक्रियाहरू, डाटा विश्लेषण, सूचना प्रणाली विकास र परियोजना व्यवस्थापन जस्ता महत्त्वपूर्ण क्षेत्रहरूमा ज्ञान र सीप प्रदान गर्दछ। डिजिटल रूपान्तरणको यो युगमा, बिआइएम स्नातकहरूको माग विभिन्न उद्योगहरूमा निरन्तर बढिरहेको छ। यसले विद्यार्थीहरूलाई आईटी कन्सल्टेन्ट, सिस्टम एनालिस्ट, प्रोजेक्ट म्यानेजर वा आफ्नै टेक स्टार्टअप सुरु गर्न जस्ता विविध करियर मार्गहरू प्रदान गर्दछ।”