हेटौंडा | बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने थानकोट–चित्लाङ सडकखण्ड (गणेशमान मार्ग) आगामी साउन २० गतेसम्म बन्द हुने भएको छ ।
सडक डिभिजन, काठमाडौंले सेतो पहरो खण्डमा उच्च ग्रेड कम गर्ने र सडकको चौडाई बढाउन काम भइरहेकोले सम्भावित दुर्घटना हुन नदिन उक्त सडक बिहान १० बजेदेखि साँझ ५ बजेसम्म पूर्ण रुपमा बन्द गरी निर्माण कार्य भइरहेको जनाएको छ ।
साथै निर्माणस्थलमा रहेको कडा चट्टानका कारण ब्याक कटिङ कार्यमा कठिनाई भई ब्याक कटिङ कार्य सम्पन्न गर्न अनुमान गरिएभन्दा बढी समय लाग्न गएको र मौसमसमेत अनुकूल नरहेकोले आगामी साउन २० गतेसम्मको निर्माण कार्य अवधिभर वैकल्पिक बाटो प्रयोग गर्न आग्रह गरेको छ ।
उक्त सडकखण्ड हुँदै चल्ने सवारी साधनलाई कुलेखानी–फाखेल र सिस्नेरी सडकखण्डबाट संचालन गर्न भनिएको छ । साथै त्यस कार्यमा स्थानीय तहलाई सहजीकरण गरिदिन पनि कार्यालयले अनुरोध गरेको छ ।