बागलुङ । आधुनिक प्रविधि र बसाइँसराइका कारण बागलुङमा रैथाने बालीको संरक्षणमा चुनौती बढेको छ। पछिल्लो समयमा कोदो, सिमी, फापर, जौ, उवा लगायतका खाद्य बालीको खेती कम हुँदै गएको छ।
यस्तो अवस्थामा किसानलाई रैथाने बाली खेतीतर्फ आकर्षित गर्न कृषि ज्ञान केन्द्रले विशेष कार्यक्रम ल्याएको छ। केन्द्रले किसानलाई नयाँ प्रविधिसँग जोड्ने र पुराना खेतीलाई पनि संरक्षण गर्ने कार्यक्रम सञ्चालन गरिरहेको छ।
विगतमा रैथाने बालीले बजार र उत्पादनअनुसारको मूल्य नपाउँदा किसान मर्कामा परेका थिए। उन्नत जातका खाद्य बाली फस्टाउन थालेपछि कृषकले पनि रैथाने बाली खेती गर्न छोडे। परम्परागत बाली गाउँको पाखो बारीमा उत्पादन हुने गर्थ्यो। तर पछिल्लो समय ती बाली उत्पादन हुने बारी वनमाराले ढपक्क ढाकिएका छन्।
स्वादिष्ट र स्वास्थ्यका लागि फाइदाजनक पुरानो बाली संरक्षण र बजारीकरणका लागि कृषि ज्ञान केन्द्रले बजेट विनियोजन गरेको छ। गत वर्षहरूमा केन्द्रले कृषकलाई परम्परागत बालीको बिउ लगायत आवश्यक सहयोग गरेको थियो। यस वर्ष भने उत्पादित वस्तुको प्याकेजिङ र बजारीकरणमा जोड दिने भएको छ।
“रैथाने बाली संरक्षणका लागि ज्ञान केन्द्रले कृषकलाई आकर्षित गर्ने खालको कार्यक्रम ल्याएको छ,” कृषि ज्ञान केन्द्रका सूचना अधिकारी कुमार पुन मगरले भने, “धेरैजसो किसान अहिले नगदेबालीतर्फ लागेका छन्। हामी किसानले उत्पादन गर्ने वस्तुलाई प्याकेजिङ र बजारीकरणमा सहयोग गर्नेछौं।”
काठेखोला गाउँपालिका–८ लेखानीका चानसिंह श्रीसले गाउँमै उत्पादन हुने रैथाने बाली कोदोलाई ब्राण्डिङ गरी बिस्कुट बनाएर बजारमा ल्याइरहेका छन्। उनका अनुसार बजारमा कोदो बिस्कुटको माग बढेको छ तर कोदो खेती धेरैले गर्न छोडेपछि कोदो नपाइने स्थिति आएको छ।
बागलुङमा अहिले ८५ हेक्टरमा फापरको खेती हुने गरेको छ भने प्रत्येक वर्ष १२० मेट्रिक टन फापर उत्पादन हुने गरेको ज्ञान केन्द्रको तथ्याङ्क छ। रैथाने बालीको उत्पादन बढाउन र बजारीकरणमा सहयोग गर्न केन्द्र लागिपरेको छ।