काठमाडाैँ । बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र बडीमालिका घुम्न जाने क्रममा बेपत्ता भएका कञ्चनपुरका एक युवकको शव फेला परेको छ। कञ्चनपुरको वेदकोट नगरपालिका, दैजीका २० वर्षीय मनिष बोहरा बडीमालिका नजिकैको त्रिवेणी पाटनमा मृत अवस्थामा भेटिएका हुन्।
जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार केही दिनयता त्यस क्षेत्रमा लगातार मौसम प्रतिकूल भई हिमपात र अत्यधिक चिसो बढेकाले कठ्याङ्ग्रिएर उनको मृत्यु भएको अनुमान गरिएको छ।
यसअघि, सोही हिमपातका कारण त्रिवेणी पाटनमै अलपत्र परेका कञ्चनपुरकै कृष्णपुर नगरपालिका–२ का २१ वर्षीय सागर कार्कीलाई हिजो दिउँसो हेलिकप्टरमार्फत उद्धार गरी सकुशल ल्याइएको थियो।


