काठमाडौं: १७औं लोकतन्त्र दिवस आज (सोमबार) मनाइँदै छ ।
तत्कालीन राजा ज्ञानेन्द्र शाहले जनतासामु घुँडा टेकेको दिनको सम्झनामा २०६४ सालदेखि हरेक वैशाख ११ गते लोकतन्त्र दिवस मनाइन्छ । १७औं लोकतन्त्र दिवसका अवसरमा आज विभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।
०६२/६३ को आन्दोलन सफल भई २०६३ वैशाख ११ गते नेपालमा लोकतन्त्र स्थापना भएको थियो । ज्ञानेन्द्र शाहले २०५९ जेठ ८ गते विघटित संसद २०६३ वैशाख ११ गते पुनःस्थापना गरेका थिए ।
नारायणहिटी दरबार हत्याकाण्डपछि राजा बनेका ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरेका थिए । उनले आफूले इच्छा गरेअनुसार शासन चलाउन थालेपछि जनताको आन्दोलनको उभारले नारायणहिटीबाट नागार्जुन पठाएको थियो ।
२०६१ माघ १९ मा ज्ञानेन्द्रले शासन सत्ताको बागडोर सम्हालेपछि आन्दोलनरत सात दल र नेकपा माओवादीबीच १२ बुँदे समझदारी भयो । २०६२ फागुनदेखि नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लिएको थियो ।
आन्दोलनरत दलले गरेकै मस्यौदाका आधारमा ज्ञानेन्द्रले वैशाख ११ गते राति संसद् पुन:स्थापनाको घोषणा गरी बैठक आह्वान गरिएको थियो । सोही दिनलाई लोकतन्त्र दिवसका रुपमा मनाउन थालिएको हो ।