काठमाडौं | नेपालमा ३६ वर्षीय एक युवामा मङ्कीपक्स (एमपक्स) संक्रमण पुष्टि भएको छ। साउदी अरेबियाबाट बिहीबार फर्किएका तनहुँका ती युवामा शुक्रबार यो संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार संक्रमित युवाको अवस्था सामान्य रहेको र उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल (टेकु) मा उपचार भइरहेको छ। साउदीबाट फर्किएपछि मङ्कीपक्सको लक्षण देखिएपछि ती युवा पहिले टोखास्थित ग्रान्डी अस्पताल पुगेका थिए। त्यहाँबाट टेकु अस्पताल रिफर गरिएको र अस्पतालले छुट्टै आइसोलेसनमा राखेर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. यदुचन्द्र घिमिरेले सरकारले यस रोगको नियन्त्रणका लागि आवश्यक प्रयास गरिरहेको बताए। मन्त्रालयले यसअघि नै मङ्कीपक्स नियन्त्रणका लागि विषयविज्ञसँग सुझाव लिई पूर्वतयारी गरेको र सातै प्रदेशमा रोकथाम तथा व्यवस्थापनका लागि अस्पताल र चिकित्सक तोकिसकेको जनाएको छ।
सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार मङ्कीपक्स ‘भाइरल जुनोसिस’ रोग हो, जुन जनावरबाट मानिसमा सर्छ। यसका मुख्य लक्षणहरूमा ज्वरो आउने, हातखुट्टा र मुखमा बिमिरा देखिने, छालामा डाबर देखा पर्ने, फोका हुने र पाप्रा लाग्ने, टाउको, ढाड र मांसपेशी दुख्ने तथा शरीरका ग्रन्थी बढ्ने समावेश छन्।
यो नेपालमा देखिएको दोस्रो मङ्कीपक्स केस हो। यसअघि २०८० असारमा एक ६० वर्षीय विदेशी महिलामा संक्रमण पुष्टि भएको थियो। हाल विश्वका १११ देशमा यो रोग फैलिसकेको छ। मन्त्रालयले हवाई तथा सीमा नाकामा निगरानी बढाउनुका साथै संघ, प्रदेश र स्थानीय तहलाई सतर्कता अपनाउन निर्देशन दिएको छ।
विशेषज्ञहरूले नागरिकहरूलाई सतर्कता अपनाउन र शंकास्पद लक्षण देखिएमा तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेका छन्।