मुटु भन्ने बित्तिकै प्रेम बुझिन्छ
प्रेम भन्ने बित्तिकै मुटु देखाइन्छ
यस प्रथा देखि वाक्क भएर
उसले घोषणा गर्यो
“मुटु भनेको सपना हो”
त्यसैले प्रेम पनि सपना हो
प्रेमलाई साकार रूप दिन लाई
सपना देखिन्छ
अनि त्यही सपनाले
निम्त्याउँदछ पागलपन ”
उसले निर्णय गर्यो
अब उप्रान्त लेखमा मुटु लेखिदैन ।
उसको घोषणालाई मान्यता दिने कि नदिने
चर्को बहस भयो
धार्मिक भक्तजनको
सबैले मुटुका डाक्टरको सल्लाह लिने विचार गरे
उसले ति भिडलाई भन्यो
“डाक्टरले बुझेनन् भने भन्नु
सपना शरीरको अदृश्य अङ्ग हो ”
धार्मिक भीडले त्यसपछि
न डाक्टर खोजे
न त मुटु
सबैले सपना खोजे।
उसले ईश्वरको भक्ति गर्यो
अनि सोध्यो
“हे ईश्वर, पागलपनको उपचार के छ”
ईश्वरले उसलाई जवाफ दिए
“आत्म संयमता ”