हेटौँडा – कर्मचारीको निरन्तर आन्दोलन पछि हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापक भोजराज बिनाडी काठमाडौँ तानिएका छन् । कर्मचारीले २६ दिनदेखि हातमा कालो पट्टी बाँधेर शान्तिपूर्ण आन्दोलन गर्दै आएका थिए । उनीहरूले व्यवस्थापक बिनाडीको सरुवा गर्न माग गर्दै आन्दोलन गरिरहेका थिए ।
निरन्तर अडान लिँदै २६ दिन देखी चलिरहेको कर्मचारीहरूको आन्दोलन माग पुरा भए सँगै साम्य भएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक बिनाडीलाई केन्द्रीय कार्यालयको सञ्चालन महाशाखा काठमाडौँमा उप-निर्देशकको पदमा सरुवा गरिएको छ ।
केन्द्रीय कार्यालयका निमित्त महाप्रबन्धक संजयालाल मानन्धरले बिनाडीलाई पत्र काट्दै उप-निर्देशक पदमा सरुवा गरिएको जनाएका छन् । पत्र अनुसार बिनाडी ७ दिनभित्र नयाँ कार्यालयमा हाजिर हुनुपर्नेछ । बिनाडी हेटौँडा औद्योगिक क्षेत्रका क्षेत्र व्यवस्थापकको जिम्मेवारीमा रहेको १७ महिला भएको थियो । निरन्तर विवाद पछि उनी केन्द्र तानिएका हुन् ।
कार्यालयका व्यवस्थापक भोजराज बिनाडीले कर्मचारीलाई बारम्बार अनुचित व्यवहार गरेको कर्मचारीले आरोप लगाउदै आएका थिए । व्यवस्थापनको विरोधमा चरणबद्ध आन्दोलन सुरु गरेका कर्मचारीले हातमा कालो पट्टी बाँधेर काम गरेका थिए । बारम्बार मानव अधिकारकै हनन् गर्ने क्रियाकलाप गरेको व्यवस्थापक बिनाडीमाथि कर्मचारीको आरोप रही आएको थियो ।
कर्मचारीलाई लोकतान्त्रिक मर्म विपरीत व्यवहार गर्ने, काम कारबाहीलाई गति दिन नसक्ने, मन्त्रीको पावर छ एक दुई जनाको जागिर खाइदिन्छु भनी धम्कीपूर्ण भाषा बोल्ने गरेकोले आफूहरू बाध्य भएर चरणबद्ध आन्दोलनमा उत्रन परेको उनीहरूले बताउँदै आएका थिए ।
व्यवस्थापक बिनाडीको सरुवाको पत्र आए सँगै कर्मचारीहरूले आन्दोलन फिर्ता लिएको बताउँदै केन्द्रीय कार्यालयको निर्णय प्रति खुसी छन् ।