काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को बजेटमा ‘गरिनेछ’ नारा मुखरित भयो । अर्थमन्त्री वर्षमान पुनको बजेट भाषण ‘गरिनेछ’ शब्दकै सागरसरी थियो ।
मंगलबार संघीय संसदमा पुनले बजेट प्रस्तुत गर्दा उनको भाषण ‘गरिनेछ’ शब्दले कब्जा गरेको थियो । उनले आफ्नो वक्तव्यमा ‘गरिनेछ’ शब्दलाई ३ सय ७६ पटक दोहोर्याए, जुन प्रत्येक मिनेटमा औसतमा ३ पटक हुन आउँछ । ‘गरिनेछ’ को यस्तो निरन्तर पुनरावृत्तिले बजेट कार्यान्वयनमा सरकारको गम्भीर प्रतिबद्धताभन्दा पनि आशंका पैदा गरेको छ ।
अर्थमन्त्रीले यस्तै ‘गर्ने’ शब्दलाई १ सय ५७ पटक, ‘गरेको’लाई १ सय ४८ पटक र ‘लागि’लाई १ सय ४४ पटक प्रयोग गरे। यी शब्दहरूको निरन्तर दोहोरोपनले पनि उनको भाषणलाई सर्वाधिक भविष्यवाणी र योजनागत बनाएको देखिन्छ ।
त्यस्तै, उनले ‘संचालन’ शब्दलाई ७९ पटक उच्चारण गरे, जसले आगामी आर्थिक वर्षमा विभिन्न कार्यक्रम तथा परियोजनाहरू सञ्चालन गर्ने प्रतिबद्धता देखाएको छ। ‘व्यवस्था’ शब्द ९० पटक प्रयोग भयो, जसबाट विविध क्षेत्रमा सुशासन कायम गर्ने प्रयास झल्कन्छ ।
अर्थमन्त्रीले ‘विकास’ शब्दलाई १ सय ७ पटक दोहोर्याए, जसले मुलुकको समग्र विकासलाई प्राथमिकता दिइएको देखाउँछ । त्यसैगरी, ‘विनियोजन’ शब्द १ सय १३ पटक उच्चारण भयो, जसबाट विभिन्न क्षेत्रहरूका लागि बजेट विनियोजनको तयारी झल्कन्छ। उनी ‘छु’ शब्द १ सय ६७ पटक बोले, जसले बजेटमा उनको व्यक्तिगत रुचि र लगावलाई प्रतिबिम्बित गरेको छ।
यस वर्षको बजेट कार्यान्वयनले नै अर्थमन्त्रीका यी शब्दहरूको सार्थकता प्रमाणित गर्नेछ कि गरिनेछै भन्नेमा शंका नै बढ्नेछ ? बजेटकै शब्दावलीबाट जनतामा समेत त्यस्तै आशंका पैदा भएको छ – सरकारले जे गर्छ, कार्यान्वयनकै रूपमा देखिनुपर्नेछ, नत्र ‘गरिनेछ’ भन्ने मात्र महँगो बजेट वाचालतामा सिमित रहनेछ ।