Sunday, September 15, 2024
समाजहेटौँडा कपडा उद्योग: पटक–पटक चर्चा मात्रै, बजेटको भाषण पनि पत्याउन छाडे नागरिक

हेटौँडा कपडा उद्योग: पटक–पटक चर्चा मात्रै, बजेटको भाषण पनि पत्याउन छाडे नागरिक

हेटौँडा | हेटौँडा कपडा उद्योग सञ्चालनको विषयमा लगातार चर्चा हुँदै आएको छ, तर नागरिकहरूले अब बजेटमा गरिएका घोषणाहरूप्रति विश्वास गर्न छाडेका छन् । करिब २४ वर्षदेखि बन्द रहेको उक्त उद्योग पुनः सञ्चालनको प्रतिबद्धता बारम्बार दोहोरिँदै आएको छ, तर त्यसको कार्यान्वयन हुन नसक्दा नागरिकले पत्याउ नै छाडेका छन् । हरेक वर्षको बजेटमा उद्योग सञ्चालन गर्ने भाषण पत्याइए पनि वास्तविक कार्यान्वयन नहुँदा नागरिकहरूले अब सरकारका भनाइहरूप्रति शंका गर्न थालेका हुन्।

चीन सरकारको लगानीमा स्थापना भएको हेटौँडा कपडा उद्योग झन्डै २४ वर्षदेखि बन्द छ । २०३२ सालमा निर्माण भएको उद्योग लगातार घाटामा गएपछि २०५७ फागुन १ बाट बन्द भएको हो । सरकार परिवर्तनसँगै उद्योग सञ्चालन गर्ने वा उत्पादन बन्द गरेर सम्पत्ति बाँडफाँटको प्रक्रियामा जाने भन्नेबारे अन्योल हुँदा २२ वर्षसम्म सञ्चालन भएको उद्योग पूर्ण रूपमा बन्द हुन पुगेको हो ।

आगामी आर्थिक वर्ष ०८१/८२ को बजेट संघीय संसद्मा प्रस्तुत अर्थमन्त्री वर्षमान पुनले हेटौँडा कपडा उद्योग सञ्चालन ल्याइने बताएका छन् । पुनले बन्द अवस्थामा रहेको विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग लगायतका उद्योग सार्वजनिक निजी साझेदारीमा सञ्चालनमा ल्याइने बताएका हुन् |

मकवानपुरका स्थानीयबासी बब्लु शर्मा भन्छन्, “हामी सरकारका वचनहरूमा अब विश्वास गर्न सक्दैनौं । धेरै वर्षदेखि भइरहेको घोषणाहरू कहिल्यै कार्यान्वयन भएनन् ।” स्थानीय अनिता राईले पनि उद्योग सञ्चालनको विषयमा सरकारको गम्भीरतामा प्रश्न उठाउँदै भनिन्, “जहिले पनि कुरामात्रै हुन्छ, काम भने हुँदैन । हामी अब यस्ता भाषणहरूमा ढुक्क छैनौं ।”

यसअधि पनि सरकारले रुग्ण उद्योग सञ्चालन गरी यहाँबाट उत्पादित कपडा सार्वजनिक पदधारण गरेका व्यक्तिले लगाउने बजेटमार्फत घोषणा गरेको थियो । विभिन्न समयमा उद्योग सञ्चालन गर्ने भन्दै सरकारले बजेट विनियोजन गरे पनि उद्योगमा रहेका पुराना मेसिन र कच्चा पदार्थको अभावमा रोकिँदै आएको छ ।

उद्योगको भवनको स्तरोन्नति गर्नुपर्ने अवस्था छ । पुरानो मेसिनले अहिलेको बजारमा प्रतिस्पर्धा गर्न नसक्ने हुँदा मेसिन मर्मत गर्नुपर्ने वा नयाँ थप गर्नुपर्ने हेटौंडा औद्योगिक क्षेत्र लिमिटेडले जनाएको छ | उद्योगमा ४ सय ८६ वटा कपडा बुन्ने तान र १४ हजार ६ सय ८८ वटा स्पिन्डल छन् । हाल औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले उद्योगको रेखदेख गरिरहेको छ । उद्योगका धेरै मेसिन अहिले पनि चलाउन सकिने अवस्थामा रहेको विभिन्न अध्ययनले देखाएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार उद्योगको वार्षिक क्षमता २ हजार ३ सय मेट्रिक टन धागो, २ करोड ५० लाख मिटर कपडा तथा दिनमै ३६ हजार मिटर कपडा उत्पादन गर्न सक्ने थियो । तत्कालीन समयमा स्वदेशमा उत्पादन भएको कपास प्रयोग गर्दै उद्योगले मुलुकलाई सुती कपडामा आत्मनिर्भरसमेत बनाएको थियो । उद्योग पूर्णरूपमा सञ्चालन हुँदा करिब १२ सय कर्मचारीले रोजगारीसमेत पाएका थिए ।

उद्योगमा हाल सशस्त्र प्रहरी बलको गण नम्बर १४ को कार्यालय छ । जहाँ ३ सयभन्दा बढी सुरक्षाकर्मी बसिरहेका छन् । उद्योगको आवासीय क्षेत्रको जग्गामा भने नयाँ औद्योगिक क्षेत्र स्थापना गरिएको छ । उक्त क्षेत्रमा नयाँ ५० उद्योग स्थापना गर्न सकिने गरी सबै जग्गा औद्योगिक क्षेत्र व्यवस्थापन समितिले उद्योग स्थापनाका लागि उद्योगीहरूलाई दिएको छ । कुल ३ हजार १ सय १९ रोपनी क्षेत्रफलमा औद्योगिक क्षेत्र फैलिएकोमा हाल ११० वटा उद्योग सञ्चालनमा छन् ।

spot_img

प्रकाशित मिति :

प्रतिक्रिया दिनुहोस्

Advertisement

सिफारिस

spot_img