काठमाडौं | काठमाडौं महानगरपालिकाको नगर सभाको १५ औँ अधिवेशनको तेस्रो बैठकमा उपप्रमुख सुनिता डंगोलले मेयर बालेन साहलाई पदीय मर्यादाको ख्याल गरेर अभिव्यक्ति दिन सुझाव दिएकी छन्। यो सुझाव नगर कार्यपालिका सदस्य अनिता कार्की ढोलीले मेयर साहलाई सामाजिक सञ्जालमा अराजक टिप्पणी नगर्न दिएको चेतावनीपछि आएको हो।
डंगोलले भनिन्, “पदमा बसिसकेपछि पदको मर्यादालाई ख्यालमा राखेर अभिव्यक्ति राख्नुपर्छ। हामी आफैंले उदाहरण बनाउन नसक्ने, मनमा जे आयो बोल्ने हो भने त्यसले समाजमा अराजकता निम्त्याउँछ।”
उनले मेयर साहको ‘सिंहदरबार जलाउँछु’ भन्ने अभिव्यक्ति र कार्की ढोलीको प्रतिक्रिया दुवै उचित नभएको बताइन्। डंगोलले थपिन्, “फरक मतलाई पनि हामीले सम्मान गर्नुपर्छ। राजनीतिमा युवा आउनुपर्ने उदाहरण दिइरहेका छौं, तर यससँगै हाम्रो काँधमा जिम्मेवारी पनि रहेको कुरा सम्झनुपर्छ।”
उपप्रमुख डंगोलले सबै जनप्रतिनिधिहरूलाई संस्थागत छवि नबिगार्न र पदको मर्म बुझेर अभिव्यक्ति दिन आग्रह गरिन्।