भोजपुर | भोजपुरको टेम्केमैयुङ गाउँपालिकामा स्थानीयवासीले श्रमदान गरेर अवरुद्ध सडक पुनः सञ्चालनमा ल्याएका छन्।
टेम्केमैयुङ गाउँपालिका–९ लेखर्कका बासिन्दाले पाँचधारे–भोजपुर सडकखण्डको राउतेखोला क्षेत्रमा वर्षाले क्षतिग्रस्त बनाएको सडक आफैं मर्मत गरेका हुन्। तीन साता लामो अवरोधपछि स्थानीयको पहलमा सडक सञ्चालनमा आएको वडाध्यक्ष नवराज माङपाहाङले जानकारी दिए।
करिब ७० जना स्थानीयवासीको सहभागितामा वडा कार्यालयको अगुवाइमा श्रमदान गरिएको स्थानीय अमृत लुइँटेलले बताए। यो सडक भोजपुरको पश्चिमी क्षेत्र र छिमेकी जिल्ला खोटाङका नागरिकको आवागमनका लागि महत्त्वपूर्ण मानिन्छ।
स्थानीयवासी अंजित गुरुङका अनुसार सडक अवरोधले दैनिक उपभोग्य वस्तुको ढुवानीमा समेत समस्या हुने गरेको छ। उनले राज्यले यो सडकलाई बाह्रै महिना सञ्चालनमा ल्याउन पहल गर्नुपर्ने आवश्यकता औंल्याए।
वडाध्यक्ष माङपाहाङले खहरे प्रकृतिको यो सडकमा वर्षा याममा बारम्बार क्षति हुने गरेको र वैकल्पिक मार्गको खोजी गर्नुपर्ने बताए। यसैबीच, रुपाथुम्की क्षेत्रको अर्को सडक पनि पहिरोले क्षतिग्रस्त भएको जानकारी दिइएको छ।
स्थानीयको प्रयासबाट तत्कालका लागि सडक सञ्चालनमा आए पनि दीर्घकालीन समाधानका लागि सरकारी निकायको ध्यानाकर्षण गराइएको छ।