काठमाडौं । राजावादी समूहहरूको बढ्दो सक्रियतासँगै नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादीः तराई–मधेस जागरण अभियान’ स्थगित गर्ने निर्णय गरेको छ।
पछिल्लो समय पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधि तीव्र हुँदै गएपछि माओवादी नेतृत्व सचेत बनेको देखिन्छ। विशेष गरी पूर्वराजाको सार्वजनिक कार्यक्रममा उल्लेख्य भीड देखिन थालेपछि माओवादीले आफ्नो रणनीति पुनः मूल्यांकन गर्ने निष्कर्ष निकालेको हो।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हाल गणतन्त्र विरुद्ध योजनाबद्ध रूपमा माहोल बनाउन खोजिएको भन्दै पार्टीभित्र तत्काल छलफल आवश्यक रहेको बताएका छन्। यही विषयमा समीक्षा गर्न आइतबार माओवादी पदाधिकारी बैठक बोलाइएको छ।
माओवादीको जागरण अभियान झापाको कचनकवलबाट सुरु भई तराई–मधेसका विभिन्न जिल्लामा सक्रिय रहेको थियो। तर, हालै राजावादीहरूको गतिविधि तीव्र भएसँगै रणनीतिक रूपमा अभियान रोक्ने निर्णय लिइएको हो।
यसैबीच, पूर्वराजा शाह आइतबार पोखराबाट काठमाडौं फर्किने क्रममा छन्, जहाँ उनका समर्थकहरूले भव्य स्वागतको तयारी गरिरहेका छन्। राजावादी समूहहरूको बढ्दो सक्रियताप्रति माओवादी केन्द्रले गम्भीर चासो व्यक्त गर्दै आवश्यक रणनीतिक निर्णय लिने बताएको छ।