मौसमकस्ताे रहला तिहारकाे माैसम ?

कस्ताे रहला तिहारकाे माैसम ?

काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तिहार पर्व लक्षित विशेष मौसम बुलेटिन सार्वजनिक गरेको छ। महाशाखाका अनुसार यस वर्षको तिहारमा पश्चिमी वायुको सामान्य प्रभाव मात्र रहनेछ, जसले गर्दा अधिकांश भूभागमा मौसम सामान्यतया अनुकूल रहने देखिएको छ।

​बुधबार जारी गरिएको बुलेटिनअनुसार तिहारका प्रमुख दिनहरूमा देशका अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ भने पहाडी तथा हिमाली केही स्थानमा सामान्य वर्षा र हिमपातको सम्भावना छ।

​काग तिहार (कात्तिक २१, शनिबार):

देशको हिमाली र पहाडी भूभागमा आंशिक बादली लाग्नेछ भने तराई क्षेत्रको मौसम मुख्यतया सफा रहनेछ। कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्र तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ। त्यस्तै, तराई, उपत्यका तथा खोँचहरूमा बिहानपख हुस्सु र कुहिरो लाग्नेछ।

​लक्ष्मी पूजा (कात्तिक २२, आइतबार):

हिमाली र पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराईको मौसम सफा रहनेछ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। बिहानपख तराई र उपत्यकाका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्नेछ।

​औँसी (कात्तिक २३, सोमबार) र गोवर्धन पूजा (कात्तिक २४, मंगलबार):

औँसीका दिन हिमाली र पहाडी भूभागमा आंशिक बादली तथा तराईमा सफा मौसम रहनेछ। हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्नेछ। गोवर्धन पूजाका दिन पनि पहाडी तथा हिमाली भूभागसँगै कोसी प्रदेशको तराई क्षेत्रमा आंशिक बदली रही अन्य तराई भूभाग सफा रहनेछ। बिहानपख तराई र उपत्यकाहरूमा हुस्सु/कुहिरोको प्रभाव रहनेछ।

​भाइटीका (कात्तिक २५, बुधबार):

भाइटीकाको दिन देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। हिमाली तथा पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार