काठमाडौँ | पाँचथरको मिक्लाजुङ गाउँपालिकामा तीन करोड लगानीमा ५३ फिट अग्लो बुद्धको मूर्ति निर्माण गरिएको छ । कोशी प्रदेश सरकारको लगानीमा मिक्लाजुङ ४ जरिबुटे डाँडामा अग्लो बुद्ध मूर्ति निर्माण भएको हो ।
मूर्ति धातुबाट निर्माण गरिएको छ । मूर्ति निर्माणका लागि १७ टन पितलको धातु प्रयोग भएको बताइएको छ । कोशी प्रदेशका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहनुभएको प्रदेश सभा सांसद इन्द्रबहादुर आङबो (मौसम) ले यो मूर्ति नेपालकै सबै भन्दा अग्लो र ठुलो भएको दाबी गरे । मूर्ति निर्माणका लागि सरकारले २०७६ सालमा बोलपत्र आह्वान गरी सम्झौता पश्चात काम सुरु गरेको थियो । २०७९ साल माघ ३० गते निर्माण कार्य सम्पन्न भएको मूर्तिको अनुहार माओवादी नेता अग्नीप्रसाद सापकोटाको जस्तै बनेकाले सच्याउन माग भएपछि पुनः सुधार गरेर ढिलो गरी उद्घाटन गरिएको छ ।
गाउँपालिकाले जरिबुटे डाँडामा बुद्धको मूर्तिसहितका संरचना बनाएर पर्यटन प्रवर्धन गर्ने योजना बनाएसँगै यहाँ यत्तिको ठुलो र अग्लो मूर्ति निर्माण गरिएको गाउँपालिका अध्यक्ष अमरराज माखिमले बताए । मूर्ति निर्माणको काम काठमाडौको स्कर्लभर्चज प्रा.लि. ले जिम्मा लिएको थियो । जरिबुटे क्षेत्र सूर्योदय र सूर्यास्तको दृश्यावलोकनका लागि प्रख्यात छ । जरिबुटे डाँडो वनस्पतिक तथा जैविक विविधताका दृष्टिले पनि महत्वपूर्ण छ । मूर्ति बुद्ध जयन्तीको अवसर पारेर शुक्रबार उद्घाटन गरिएको हो ।