काठमाडौं | वसन्त ऋतुको जारी हिमाल आरोहण सिजनमा हालसम्म ३९५ जनाले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।
पर्यटन विभागका अनुसार हालसम्म १३५ जना विदेशी आरोही र २३५ जना शेर्पा सहयोगीले सगरमाथा आरोहणको अनुमति लिएका छन्। शिखरसम्म डोरी टाँग्ने (रोप फिक्सिङ) टोलीमा सात जना रहेका छन्।
यस सिजनमा ५७ देशका नागरिकले सगरमाथा आरोहणको लागि नेपाल आएका छन्। विभागका अनुसार हालसम्म ४७ वटा आरोहण समूहका ८६ महिला र ३८२ पुरुषसहित कुल ४६८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका छन्।
गत आइतबार मौसम अनुकूल भएपछि एकैदिन १३५ जनाले सगरमाथाको सफल आरोहण गरेका थिए। मौसमले साथ दिँदा आरोहणको प्रयास तीव्र गतिमा भइरहेको विभागले जनाएको छ।
सगरमाथासहित अन्य २६ हिमालमा पनि यो सिजनका लागि कुल १२७ आरोहण समूहका १,१६८ जनाले आरोहण अनुमति लिएका छन्।



