बागमती |नेपालमा स्क्रब टाइफसको संक्रमण ७४ जिल्लामा फैलिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार पछिल्लो तथ्यांकसम्म ९ हजार ९२३ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।
महाशाखाका अनुसार डोल्पा, मनाङ र मुगुबाहेक देशका सबै जिल्लामा संक्रमण देखिएको छ। संक्रमितको संख्या बढेसँगै चिकित्सकहरूले ज्वरो वा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिए बेवास्ता नगरी स्वास्थ्य संस्थामा जान सुझाव दिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको कीटजन्य रोग शाखा प्रमुख डा. गोकर्ण दाहालका अनुसार स्क्रब टाइफस समयमै पहिचान गरी उपचार गरे पूर्ण रूपमा निको हुन सक्छ। तर उपचारमा ढिलाइ भए मुटु, कलेजो, फोक्सोलगायत शरीरका महत्वपूर्ण अंगमा असर पर्न सक्ने र अवस्था गम्भीर बन्न सक्ने जोखिम हुन्छ।
पछिल्लो तथ्यांकअनुसार दाङमा सबैभन्दा धेरै ६२४ जनामा संक्रमण पुष्टि भएको छ। स्याङ्जामा ५१३, बझाङमा ४५६, संखुवासभामा ४३८, पाल्पामा ३९६, धादिङमा ३४०, बर्दियामा ३२३, गोरखामा ३१९ र दार्चुलामा ३१२ जनामा संक्रमण देखिएको छ।
सल्यानको दर्मा गाउँपालिकामा पछिल्लो समय संक्रमण तीव्र देखिएको छ। त्यहाँ ३०५ जनामा संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको जनाइएको छ।
स्क्रब टाइफस ‘ओरेन्सिया सुसुगामुसी’ नामक जीवाणुबाट लाग्ने रोग हो। यो संक्रमित माइटको टोकाइबाट मानिसमा सर्छ। माइट प्रायः झाडी, खेतबारी, वनजंगल, घाँसपात, ओसिलो ठाउँ तथा मुसा धेरै हुने क्षेत्रमा पाइन्छ।
यो रोग मानिसबाट मानिसमा भने सर्दैन। संक्रमित मुसालाई टोकेको माइटले मानिसलाई टोक्दा संक्रमण हुने जोखिम रहन्छ।
चिकित्सकका अनुसार स्क्रब टाइफस हुँदा ज्वरो आउने, टाउको दुख्ने, शरीर दुख्ने, खान मन नलाग्ने, खोकी लाग्ने, गिर्खा आउने, निमोनियाजस्तो समस्या देखिने तथा कतिपयमा आँखा रातो हुने लक्षण देखिन सक्छ। माइटले टोकेको ठाउँमा कालो दाग देखिनु पनि यसको एउटा महत्वपूर्ण संकेत हुन सक्छ।
डा. दाहालले ज्वरो आएमा डेंगी वा टाइफाइड मात्रै हुनसक्छ भनेर घरमै बस्न नहुने बताउनुभएको छ। स्वास्थ्यकर्मीले पनि स्क्रब टाइफसको सम्भावनालाई ध्यानमा राखेर आवश्यक परीक्षण गर्नुपर्ने उहाँको सुझाव छ।
स्क्रब टाइफसको उपचारका लागि आवश्यक औषधि स्वास्थ्य संस्थामा निःशुल्क उपलब्ध रहेको जनाइएको छ। समयमै औषधि सुरु भए उपचार जटिल नहुने भए पनि ढिलाइ हुँदा बिरामीलाई आईसीयू वा भेन्टिलेटरसम्म आवश्यक पर्न सक्छ।
विशेषगरी खेतबारीमा काम गर्ने, घाँसदाउरा गर्ने, झाडी तथा वनजंगलमा जाने व्यक्तिमा संक्रमणको जोखिम बढी हुन्छ। तर यो रोग गाउँमा मात्र सीमित नभई शहरका पार्क, चौर तथा झाडी भएका स्थानमा समेत फैलिन सक्ने भएकाले सबैले सावधानी अपनाउन चिकित्सकले सुझाव दिएका छन्।
खेतबारी वा वनजंगलमा जाँदा पूरा शरीर ढाकिने कपडा लगाउने, जुत्ता-मोजा वा बुट प्रयोग गर्ने, भुईँमा सीधै नबस्ने र घर फर्किएपछि कपडा फेरेर नुहाउने गर्दा संक्रमणको जोखिम कम गर्न सकिने चिकित्सकहरूको भनाइ छ।
ज्वरो निरन्तर आइरहेमा वा स्क्रब टाइफससँग मिल्दोजुल्दो लक्षण देखिए ढिलो नगरी नजिकको स्वास्थ्य संस्थामा परीक्षण तथा उपचार गराउन आग्रह गरिएको छ।



