हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत मंगलबार मकवानपुरका विभिन्न स्थानीय तहमा सांसदसहितको टोलीले नागरिकसँग अन्तरक्रिया गरेको छ।
अभियानअन्तर्गत सांसद विदुषी राणाले बकैया र बागमती गाउँपालिकामा तथा सांसद समिना मियाँले राक्सिराङ र मनहरी गाउँपालिकाका विभिन्न स्थानमा स्थानीय नागरिक, पार्टीका नेता–कार्यकर्ता तथा सरोकारवालासँग संवाद गरेका हुन्।
बकैया गाउँपालिकामा आयोजित कार्यक्रममा स्थानीयले सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सेवा प्रवाहसँग सम्बन्धित समस्या राखेका थिए। बागमती गाउँपालिकामा भने भूमिहीन तथा सुकुम्बासीको लालपुर्जा, झोलुङ्गे पुल तथा अन्य स्थानीय पूर्वाधारका विषय प्रमुख रूपमा उठेका थिए।
सांसद राणाले स्थानीय तहबाट समाधान गर्न सकिने विषयमा सम्बन्धित पालिकासँग समन्वय गर्ने तथा संघीय सरकार र मन्त्रालयसँग सम्बन्धित विषयलाई सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने बताइन्।
“स्थानीयले राखेका विषय सम्बन्धित मन्त्रालय र निकायसम्म पुर्याउँछौँ। संसद्मा उठाउनुपर्ने विषय संसद्मा उठाउँछु,” राणाले भनिन्।
यस्तै सांसद समिना मियाँले राक्सिराङ र मनहरीमा आयोजित कार्यक्रममा सरकारका पछिल्ला छ महिनाका कामबारे जानकारी गराउनुका साथै रास्वपाले स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै अघि सारेको ‘क्यान्डिडेट क्लब’का विषयमा छलफल गरेकी छन्।
रास्वपा मकवानपुरका सभापति सञ्जीव पाठकका अनुसार राक्सिराङ र मनहरीमा कार्यक्रम गरिएको हो। कार्यक्रममा क्यान्डिडेट क्लबमा आवेदन दिने प्रक्रिया, नेतृत्व छनोट तथा युवा र विभिन्न क्षेत्रमा सक्रिय व्यक्तिलाई राजनीतिक नेतृत्वमा सहभागी गराउने विषयमा समेत जानकारी गराइएको उनले बताए।
रास्वपा मकवानपुरका सचिव बिशभ अधिकारीका अनुसार अभियानको उद्देश्य सरकारका पछिल्ला छ महिनाका काम नागरिकसमक्ष प्रस्तुत गर्नुका साथै स्थानीय तहमा रहेका समस्या, गुनासा, सुझाव र अपेक्षा प्रत्यक्ष रूपमा सङ्कलन गर्नु हो।
अधिकारीका अनुसार अभियानका क्रममा सङ्कलित विषयलाई सांसदमार्फत सरकार, संसद् तथा सम्बन्धित निकायसम्म पुर्याउने पार्टीको योजना छ।
अभियानका लागि सांसद विदुषी राणा, समिना मियाँ र राजिब खत्रीलाई मकवानपुरमा खटाइएको छ। आगामी कार्यक्रममा राणाले मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा तथा मियाँले कैलाश गाउँपालिकामा सहभागिता जनाउने कार्यतालिका छ। सांसद राजिब खत्री मकवानपुर आइपुगेपछि थाहा नगरपालिकामा हुने कार्यक्रममा सहभागी हुनेछन्।
सात दिनसम्म सञ्चालन हुने अभियानमार्फत मकवानपुरका १० वटै स्थानीय तहमा पुग्ने रास्वपाको योजना रहेको सचिव अधिकारीले जानकारी दिए।



