काठमाडाैँ । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य अंकको सुधार आएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.३१ अंकले बढेर २५७४.६५ विन्दुमा पुगेर बन्द भएको हो।
नेप्सेमा सामान्य सुधार आउँदा कारोबार रकम भने करिब चार अर्ब रुपैयाँको हाराहारीमा पुगेको छ। बिहीबार कुल तीन अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको नेप्सेले जनाएको छ।
यस दिन कुल १४० वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १२७ वटा कम्पनीको मूल्य घटेको छ। बाँकी ११ वटा कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो।
कारोबारका आधारमा घलेम्दी हाइड्रोपावर अग्रस्थानमा रह्यो। यो कम्पनीको मात्रै २६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
यस्तै, कुथेलीबुखरी हाइड्रोपावरको सेयर मूल्यमा १५ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ। उता आरबीबी म्युचुअल फन्डका लगानीकर्ताले भने सबैभन्दा धेरै गुमाएका छन्। यसको सेयर मूल्य ८.०७ प्रतिशतले घटेको छ।



