बागमती प्रदेशमकवानपुरमकवानपुरमा आयुर्वेद उपचारप्रति बढ्दो आकर्षण

मकवानपुरमा आयुर्वेद उपचारप्रति बढ्दो आकर्षण

हेटौँडा | मकवानपुरमा आयुर्वेद उपचार गराउने नागरिकको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य रूपमा बढ्दै गएको छ।अन्य स्वास्थ्य सेवाको तुलनामा आयुर्वेद चिकित्सालयमा ओपीडी सेवा लिने बिरामीको संख्या तीव्र गतिमा बढेको छ।

हेटौँडास्थित सञ्चालनमा रहेका आयुर्वेद तथा वैकल्पिक चिकित्सालयमा शल्य चिकित्सा, पञ्चकर्म, ज्येष्ठ नागरिक सेवा, योग, स्तनपायी सेवा, अकुपञ्चर, फिजियोथेरापी तथा प्रयोगशाला सेवा उपलब्ध छन्। प्राकृतिक उपचार पद्धतिप्रति बढ्दो विश्वासका कारण यी सेवाबाट लाभ लिने नागरिकको संख्या निरन्तर बढ्दो क्रममा रहेको मन्त्रालयले जनाएको छ।

हेटौँडास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयबाट मात्रै चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्म ३ हजार ६२४ महिला र २ हजार ७३८ पुरुष गरी कुल ६ हजार ३६२ जनाले सेवा लिएका छन्। उमेर समूहका आधारमा हेर्दा १७ देखि ५९ वर्ष उमेर समूहका ३ हजार ९४१ जना सेवाग्राही रहेका छन् भने ६० वर्षमाथिका २ हजार २६२ जनाले उपचार सेवा लिएका छन्। चिकित्सालयबाट बाहिरंग अर्थात् ओपीडी सेवा लिनेको संख्या समेत उल्लेख्य रहेको छ। नयाँ र नियमित गरी यस अवधिमा कुल २१ हजार ४२६ पटक बाहिरंग सेवा प्रदान गरिएको चिकित्सालयले जनाएको छ।

यस अवधिमा चिकित्सालयबाट १ हजार ७७ महिला र १ हजार ५० पुरुष गरी कुल २ हजार १२७ जनाले ज्येष्ठ नागरिक सेवा लिएको कार्यालयका तथ्यांक अधिकृत प्रेम संखर प्रसादले जानकारी दिए । उनका अनुसार योग सेवाबाट ९०० जनाले लाभ लिएका छन् भने पूर्वकर्म सेवाबाट ७०४ महिला र ३७८ पुरुष गरी १ हजार ८२ जनाले सेवा लिएका छन्। त्यस्तै पञ्चकर्म सेवा ९१ महिला र ३२ पुरुष गरी कुल १२३ जनाले लिएका छन्। चिकित्सालयमा उपलब्ध प्रयोगशाला सेवातर्फ पनि उल्लेख्य सहभागिता देखिएको छ। यस अवधिमा विभिन्न प्रकारका जम्मा २ हजार ६०५ परीक्षण सेवा प्रदान गरिएको छ।

चालु आर्थिक वर्षमा मासिक रूपमा हेर्दा साउन महिनामा १ हजार ९६७ जनाले सेवा लिएका छन् भने भदौमा १ हजार ७२९, असोजमा १ हजार २८३ र कार्तिकमा १ हजार ३९३ जनाले आयुर्वेद उपचार सेवा लिएको चिकित्सालयको प्रतिवेदनमा उल्लेख छ। विगतका वर्षहरूसँग तुलना गर्दा आर्थिक वर्ष २०८१/८२ मा हेटौँडास्थित चिकित्सालयबाट १७ हजार ८१२ जनाले सेवा लिएका थिए। त्यसअघिल्लो आर्थिक वर्ष २०८०/८१ मा २० हजार ९५ जनाले सेवा लिएका थिए भने आर्थिक वर्ष २०७९/८० मा २१ हजार ९५६ जनाले आयुर्वेद उपचार सेवा लिएका थिए।

यसैबीच मकवानपुर जिल्लामा नागरिक आरोग्य केन्द्र विस्तारको काम पनि तीव्र गतिमा अघि बढिरहेको छ। हालसम्म जिल्लामा ८ वटा नागरिक आरोग्य केन्द्र सञ्चालनमा आइसकेका छन् भने अब दुई पालिकामा मात्रै केन्द्र खोल्न बाँकी रहेको जनाइएको छ। हालै मकवानपुरगढीमा समेत नयाँ नागरिक आरोग्य केन्द्र सञ्चालनमा आएको छ।

हेटौँडास्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सालयका सूचना अधिकारी तथा वरिष्ठ कविराज निरीक्षक अशोक कुमार झाका अनुसार चिकित्सालय सानो भवनबाट ठूलो स्थानमा सरेपछि सेवाको गुणस्तर उस्तै भए पनि व्यवस्थापन पक्ष सहज बनेको छ। उनका अनुसार पहिला बिरामी व्यवस्थापनमा देखिने समस्या अहिले हटेको छ। चिकित्सालयमा पूर्वकर्म, पञ्चकर्म, मातृशिशु सुरक्षार्थ कार्यक्रमअन्तर्गत स्तनपान गराउने आमाका लागि औषधि वितरण, औषधि सेवा, फिजियोथेरापी र एकुपञ्चर सेवा उपलब्ध छन्।

उनले बागमती प्रदेश सरकार र स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार जनस्तरमै पुगेर सेवा प्रदान गरिँदै आएको जानकारी दिनुभयो। घरदैलो कार्यक्रमअन्तर्गत गाउँगाउँमा पुगेर रक्तचाप र मधुमेह परीक्षण तथा आवश्यक औषधि वितरण गर्ने गरिएको उनको भनाइ छ। प्रदेश सरकार गठन भएपछि आयुर्वेदप्रतिको दृष्टिकोण फेरिएको र बजेट तथा जनशक्तिमा सहयोग बढेपछि सेवा विस्तार सम्भव भएको उनले बताए।

चिकित्सालयमा पायल्स, फिस्टुला तथा क्षारसूत्र उपचारका लागि पनि बिरामीको चाप बढ्दै गएको छ। यी उपचार विशेषज्ञ चिकित्सकद्वारा शल्यक्रियाका रूपमा गरिने गरिएको जानकारी दिँदै उनले प्रयोगशाला सेवाअन्तर्गत रगत परीक्षणलगायतका सेवा पनि उपलब्ध रहेको बताए ।

चिकित्सालयले आधारभूत पञ्चकर्म सेवा, योग सेवा र मातृशिशु सुरक्षार्थ कार्यक्रम पूर्ण रूपमा निःशुल्क प्रदान गर्दै आएको छ। एकुपञ्चर र प्रयोगशाला सेवामा न्यूनतम शुल्क लाग्ने भए पनि फिजियोथेरापी सेवा हाल मन्त्रीको निर्देशनपछि निःशुल्क गरिएको अस्पताल प्रशासनले जनाएको छ।

समग्रमा हेर्दा हेटौँडा–मकवानपुर क्षेत्रमा समेत आयुर्वेद उपचारप्रति नागरिकको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको देखिन्छ। प्राकृतिक, सुरक्षित र दीर्घकालीन लाभ दिने उपचार पद्धतिका रूपमा आयुर्वेदप्रतिको बढ्दो विश्वासले आगामी दिनमा यस क्षेत्रको सेवा विस्तारलाई अझ महत्वपूर्ण बनाउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img