मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले आफ्नो व्यक्तिगत लगानीमा गाउँपालिका–२ स्थित कर्मचोकदेखि वडा कार्यालय जाने सडक स्ल्याब ढलान गराउने भएका छन्। ६ मिटर चौडाइ र २०० मिटर लम्बाइ रहेको सडकको ढलानका लागि शनिबार अध्यक्ष कालाखेतीले प्राविधिक जाँच गरी लागत स्टिमेट तयार गराएका छन्। स्टिमेट अनुसार ढलानका लागि करिब २० लाख रुपैयाँ खर्च हुनेछ।
शनिबार मनहरी–२ कर्मचोकमा आयोजित कार्यक्रममा अध्यक्ष कालाखेतीले केही दिनभित्रै सडक ढलानको काम सुरु गरिने जानकारी दिए। जेनजी आन्दोलनपछि गाउँपालिकामा भौतिक क्षति र बजेट कटौतीका कारण विकास आयोजनाहरू प्रभावित भएको बताउँदै उनले स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै निजी खर्चमा यो योजना अगाडि बढाएको बताए।
अध्यक्ष कालाखेतीले आफ्नो तलबभत्ताबाट मनहरी–५ मा एक विपन्नको घर निर्माण गरिसकेका छन् भने मनहरी–६ मा पनि अर्को घर निर्माणको काम भइरहेको जानकारी दिए। यस्तै, विपन्न बालबालिकालाई छात्रवृत्ति र पोसाक उपलब्ध गराउने काममा समेत उनले आफ्नो तलबभत्ता खर्च गर्दै आएका छन्।



