हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रतिनिधिसभा सदस्य विदुषी राणाले ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत मकवानपुरको बकैया र बागमती गाउँपालिकामा स्थानीय नागरिकसँग अन्तरक्रिया गरेकी छन्।
बकैया गाउँपालिकामा आयोजित कार्यक्रममा स्थानीयवासीले सडक, खानेपानी, सिँचाइ, शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी तथा सेवा प्रवाहसँग सम्बन्धित समस्या र सुझाव राखेका थिए।
राणाले स्थानीय तहबाट समाधान गर्न सकिने विषयमा सम्बन्धित पालिकासँग समन्वय गर्ने तथा संघीय सरकार र मन्त्रालयसँग सम्बन्धित विषय सम्बन्धित निकायसम्म पुर्याउन पहल गर्ने बताइन्।
“स्थानीयले राखेका विषय सम्बन्धित मन्त्रालय र निकायसम्म पुर्याउँछौँ। संसद्मा उठाउनुपर्ने विषय संसद्मा उठाउँछु,” उनले भनिन्।
यस्तै, बागमती गाउँपालिकामा भएको अन्तरक्रियामा भूमिहीन तथा सुकुम्बासीको लालपुर्जा, झोलुङ्गे पुल, सडक र अन्य स्थानीय पूर्वाधारका समस्या प्रमुख रूपमा उठेका थिए। राणाले ती विषयमा सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने बताइन्।
यसअघि हेटौँडास्थित रास्वपा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा उनले सरकारका पछिल्ला छ महिनाका काम तथा पार्टीले अघि सारेको ‘क्यान्डिडेट क्लब’बारे पनि जानकारी गराएकी थिइन्।
राणाका अनुसार क्यान्डिडेट क्लबमार्फत स्थानीय तहमा नेतृत्व गर्न चाहने योग्य, इमानदार र सक्षम व्यक्तिलाई प्रक्रियाबाट अघि ल्याउने उद्देश्य राखिएको छ। उम्मेदवार छनोटमा नातावाद, कृपावाद वा आर्थिक प्रभावभन्दा क्षमता र कामलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ थियो।
हेटौँडासँग आफ्नो पारिवारिक तथा औद्योगिक सम्बन्ध रहेको उल्लेख गर्दै राणाले स्थानीय उद्योग, उत्पादन र रोजगारीका विषयलाई पनि प्राथमिकताका साथ उठाउने बताइन्।
रास्वपा मकवानपुरका सचिव बिशभ अधिकारीका अनुसार ‘हामी आउँदैछौँ’ अभियानको उद्देश्य सरकारका कामबारे नागरिकलाई जानकारी गराउनुका साथै स्थानीयस्तरका समस्या, गुनासा र सुझाव सङ्कलन गरी सांसदमार्फत सरकार, संसद् तथा सम्बन्धित निकायसम्म पुर्याउनु हो।
अभियानअन्तर्गत राणाले अब मकवानपुरगढी, भीमफेदी र इन्द्रसरोवर गाउँपालिकामा हुने कार्यक्रममा पनि सहभागिता जनाउने कार्यतालिका रहेको अधिकारीले जानकारी दिए।



