मकवानपुर । प्रशान्त महासागरमा विकसित ‘एल निनो’ प्रणालीका कारण यो वर्ष नेपालमा औसतभन्दा कम वर्षा हुने अनुमान गरिए पनि अन्ततः औसतसरह नै पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १९ देखि नेपाल प्रवेश गरेको मनसुन अवधिमा हालसम्म झन्डै ९५ प्रतिशत वर्षा भइसकेको छ।
नेपालमा सामान्यतया मनसुन अवधिमा औसत १ हजार ५०० मिलिमिटर पानी पर्ने गरेकोमा यस वर्ष १ हजार ३२६ मिलिमिटर वर्षा रेकर्ड भएको विभागले जनाएको छ। मनसुन सुरु हुनुअघि विभागले एल निनोकै कारण औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरेको थियो।
यसपालि प्रदेशगत रूपमा वर्षाको मात्रा भने असमान देखिएको छ। मौसमविद्हरूका अनुसार मधेश प्रदेशमा औसतभन्दा कम वर्षा हुँदा गण्डकी प्रदेश तथा बागमतीका काठमाडौँ र सिन्धुपाल्चोक आसपासका क्षेत्रमा औसतभन्दा धेरै पानी परेको छ। जुम्ला, जोमसोम र काठमाडौँ विमानस्थलमा धेरै वर्षा मापन गरिँदा धनगढी, नेपालगञ्ज, जनकपुर र विराटनगर क्षेत्रमा भने औसतभन्दा कम वर्षा भएको छ।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक मदन सिग्देलका अनुसार एल निनोको प्रभाव दक्षिण एसियासम्म आइपुग्न समय लागेकाले मनसुन अवधिभर यसको असर नेपालमा सोचेजस्तो देखिएन। यसबाहेक स्थानीय मौसमी प्रणाली र मनसुनको अन्त्यतिर विकसित न्यून चापीय प्रणालीले पनि वर्षा गराउन मद्दत पुर्याएको उनले बताए।
देशका अधिकांश भूभागबाट मनसुन बाहिरिइसके पनि पश्चिमी वायु र स्थानीय प्रणालीको सामान्य प्रभावका कारण अझै केही वर्षा थपिन सक्ने अनुमान छ।
यद्यपि, आउँदो नोभेम्बरमा उत्कर्षमा पुग्ने अनुमान गरिएको एल निनो प्रणालीका कारण यसपालि हिउँदे वर्षा भने कम हुने जोखिम छ। विगत तीन वर्षदेखि लगातार घट्दै गएको हिउँदे वर्षाका कारण यस वर्ष कृषि उत्पादन र खाद्य सुरक्षामा चुनौती थपिन सक्ने विज्ञहरूले चेतावनी दिएका छन्।



