हेटौँडा । अघिल्ला वर्षहरूमा डढेलोको उच्च जोखिम झेल्दै आएको मकवानपुरमा यस वर्ष भने वन डढेलो नियन्त्रणमा उल्लेख्य सुधार देखिएको छ। डिभिजन वन कार्यालय मकवानपुरले “वन डढेलो व्यवस्थापन सप्ताह” अन्तर्गत गरेको प्रारम्भिक तयारी, सचेतना र निगरानीका कारण हालसम्म ठूलो क्षति हुन नपाएको जनाएको छ।
कार्यालय प्रमुख राकेश प्रसाद चन्द्रवंशीको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनमा यस वर्ष सुरुदेखि नै जोखिम क्षेत्र पहिचान, सामुदायिक समन्वय र उपकरण तयारीलाई प्राथमिकता दिइएको जानकारी दिइयो। वन अधिकृत हेमकुमार पाठकका अनुसार मानवीय लापरबाही, जथाभावी आगो बाल्ने प्रवृत्ति र मौसमीय असर डढेलोका मुख्य कारण भएकाले समुदायस्तरमै सचेतना विस्तार गरिएको छ।
तथ्यांकले पनि सुधारको संकेत देखाउँछ। अघिल्लो वर्ष ५७४.२५ हेक्टर वन क्षेत्र प्रभावित हुँदा चालु वर्षमा चैतसम्म आइपुग्दा करिब ५ हेक्टर क्षेत्रमा मात्रै डढेलो लागेको छ। जोखिम न्यूनीकरणका लागि २१ स्थानमा पानी पोखरी निर्माण, २२५ हेक्टरमा थिनिङ, ३७.१ किमी अग्निरेखा सरसफाइ र ४ किमी नयाँ अग्निरेखा निर्माण गरिएको छ।
यद्यपि मकवानपुर अझै पनि देशभर डढेलोको उच्च जोखिममा पर्ने १८औँ स्थानमा रहेको छ, विशेषगरी बागमती र बकैया क्षेत्र संवेदनशील मानिन्छन्। तापक्रम वृद्धि र सुख्खा मौसमका कारण आगामी दिनमा जोखिम बढ्न सक्ने चेतावनी दिँदै कार्यालयले सबै सरोकारवालाबीच समन्वय अझै मजबुत बनाउनुपर्ने औंल्याएको छ।
वन कार्यालयले सर्वसाधारणलाई वन क्षेत्रमा जथाभावी आगो नबाल्न, डढेलो देखिएमा तुरुन्त जानकारी गराउन र वन संरक्षणमा सक्रिय भूमिका खेल्न आग्रह गर्दै वन डढेलो नियन्त्रण सबैको साझा जिम्मेवारी भएको दोहोर्याएको छ।



