मौसममनसुन बाहिरिने क्रम सुरु भएपनि थप वर्षाको सम्भावना

मनसुन बाहिरिने क्रम सुरु भएपनि थप वर्षाको सम्भावना

मकवानपुर । नेपालबाट मनसुन बाहिरिने क्रम सुरु भए पनि आगामी दिनमा वर्षाको गतिविधि थप बढ्ने मौसमविद्हरूले बताएका छन्। बङ्गालको खाडी र अरब सागरबाट जलवाष्पयुक्त वायु भित्रिरहेकाले घटस्थापनाको अघिल्लो दिनसम्मै देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना छ।

​त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलका अनुसार आजदेखि असोज २१ गतेसम्म वर्षाको प्रभाव बढी रहनेछ। असोज २० गते पहाडी भूभागका धेरै ठाउँमा र २१ गते पूर्वदेखि पश्चिमसम्मै व्यापक वर्षाको आकलन गरिएको छ। २१ गते सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको उनले बताए।

​मौसम पूर्वानुमान महाशाखाका मौसमविद् माधवी सिग्देलका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न भागमा छिटपुटदेखि मध्यम वर्षा जारी रहनेछ। विशेषगरी पश्चिमी भूभागमा वर्षाको गतिविधि बढ्ने सम्भावना छ।

​आज दिउँसो काठमाडौँ उपत्यकासहित पहाडी तथा हिमाली भूभागका थोरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ। यसैगरी मधेश, कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

​विगत २४ घण्टामा कर्णालीदेखि कोशी प्रदेशसम्मै वर्षा दर्ज भएको छ। खासगरी कोशी, मधेश, गण्डकी र लुम्बिनीका केही स्थानमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। दशैँको घटस्थापनाका दिन भने पानी पर्ने क्रम केही घट्ने मौसमविद्को अनुमान छ।

प्रतिक्रिया दिनुहोस्

spot_img

ट्रेन्डिङ

इन्फो ग्राफिक्स

ताजा समाचार

spot_img