काठमाडौँ। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज (शुक्रबार) बिहान ७ बजेदेखि मतदान सुरु भएकाे छ । मतपत्र छपाइमा ढिलाइ भएपछि बिहीबार तय गरिएको मतदान कार्यतालिका प्रभावित भई आजका लागि सारिएको हो।
निर्वाचन समितिका अनुसार बिहान ७ बजे ज्येष्ठ मतदाताबाट मतदान सुरु गरेर दिउँसो ३ बजेसम्म सम्पन्न गर्ने तयारी गरिएको छ। हिजो बिहीबार दिउँसो नै मतपत्र छपाइ लगायतका प्राविधिक काम सकिए पनि रातभर चुनाव गराउन व्यावहारिक नहुने भएकाले मतदान आज बिहानका लागि तय गरिएको समितिले जनाएको छ।
महाधिवेशनमा देशभरिबाट सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदानमा भाग लिँदैछन्। कांग्रेसको नयाँ सभापति पदका लागि गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ।
यसअघि बिहीबार बिहान ७ बजेका लागि तोकिएको मतदान समय पटक-पटक सार्दै अन्ततः आज बिहानका लागि तय गरिएको थियो।



