मकवानपुर । पछिल्ला केही दिनको अविरल वर्षापछि आजदेखि देशभरको मौसममा सुधार आउने भएको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका धेरैजसो भू-भागमा आजदेखि मौसम क्रमशः सफा हुँदै जानेछ।
महाशाखाका अनुसार आज हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहे पनि तराई क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान छ। पछिल्लो १२ घण्टामा देशका एकाध स्थानबाहेक उल्लेख्य वर्षा भएको छैन।
मौसममा सुधार आए पनि केही प्रदेशका हिमाली र पहाडी क्षेत्रका थोरै स्थानमा भने हल्कादेखि मध्यम वर्षाको सम्भावना कायमै छ। कोशी, बागमती र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागका थोरै ठाउँ तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
यसअघि गएको बुधबारदेखि शुक्रबारसम्म देशभरका अधिकांश स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा भएको थियो। हिजो शनिबार दिउँसोपछि काठमाडौँ उपत्यकासहितका क्षेत्रमा पानी पर्न रोकिएको थियो।


