काठमाडौँ। आगामी दशैँ–तिहारलाई लक्षित गर्दै सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ असोज २३ गतेदेखि खुल्ने भएको छ। यातायात व्यवस्था विभागमा मंगलबार बसेको सरोकारवाला र यातायात व्यवसायीको संयुक्त बैठकले लामो तथा मध्यम दूरीका सवारीसाधनका लागि बुकिङ खुला गर्ने निर्णय गरेको हो।
बैठकले फूलपातीदेखि पूर्णिमासम्म लामो तथा मध्यम दूरीका सवारी र रिजर्भ गाडीहरूका लागि देशभर ‘रुट परमिट’ खुला गर्ने निर्णय समेत गरेको छ। चाडपर्वका बेला सडकमा सवारीको चाप नियन्त्रण गर्न खाद्यान्न, तरकारी, फलफूल, औषधि र खसीबोका जस्ता अत्यावश्यक सामग्री बोक्ने सवारीसाधनलाई मात्र प्राथमिकता दिइने यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए।
यात्रुलाई ठगी र कालाबजारीबाट जोगाउन प्रमुख नाका तथा बसपार्कहरूमा नागरिक सहायता कक्ष स्थापना गरिने विभागले जनाएको छ।
यसैगरी दशैँका बेला भाडादर नबढ्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष सरोज सिटौलाले बताए। उनका अनुसार यात्रुहरूले साविककै तोकिएको भाडादरमा यात्रा गर्न पाउनेछन्।
अविरल वर्षा र बाढीपहिरोका कारण धेरै स्थानमा सडक क्षतिग्रस्त भएकाले जोखिम मोलेर सवारी नलगाउन चालकहरूलाई निर्देशन दिइएको छ। साथै, बीपी राजमार्गको सवारी चाप घटाउन साना तथा दुईपांग्रे सवारीसाधनलाई कान्ति लोकपथसहितका वैकल्पिक मार्गबाट पठाउने विषयमा पनि छलफल भएको महासंघले जनाएको छ।



