काठमाडौं । देशभर पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव कायमै रहेको छ। यसका कारण आज शनिबार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ।
जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा साधारणतया बदली रहेको छ। बाँकी भूभागमा आंशिक बदली रहेको छ।
हाल बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा साधारणतया बदली रहनेछ। तराईका अधिकांश स्थानमा भने आंशिक बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
कोशी प्रदेशको तराई क्षेत्रका एक–दुई स्थानमा समेत चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ।
आज राति देशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहनेछ भने तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, तराईका केही स्थानमा बिहानपख हुस्सु लाग्न सक्ने पूर्वानुमान गरिएको छ।
मौसममा देखिएको परिवर्तनसँगै चट्याङ र वर्षा हुन सक्ने क्षेत्रका बासिन्दालाई आवश्यक सतर्कता अपनाउन सुझाव दिइएको छ।



